जनकपुर ।
सरकारले गुणस्तरहीन मारुती समेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेसँगै विकास निर्माणको काममा प्रयोग नगर्न निर्देशन दिएको हो ।
विकास निर्माणको काम गर्दै आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले उक्त गुणस्तरहीन सिमेन्ट प्रयोग नगर्न निर्देशन दिँदै आफू मातहतका निकायलाई गुणस्तरहीत सिमेन्ट प्रयोग नगर्न परिपत्र नै जारी गरिसकेको छ ।
शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘विकास निर्माणको काममा प्रयोग हुने सिमेन्टलगायतका निर्माण सामग्रीको गुणस्तर चेकजाँच नियमितरूपमा गर्दै आएका छौं, गुणस्तरहीत निर्माण सामग्री पूर्णरूपमा रोक लगाउन निर्देशन भइसकेको छ ।’
मारुती सिमेन्टबाट निर्माण गरिएका विकास निर्माणको कामसमेत गुणस्तरहीन देखिन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
उनले भने– ‘विगतदेखि नै मारुती सिमेन्टको गुणस्तरमाथि शंका थियो, अहिले विभागले नै गुणस्तरहीन भएको तथ्य सार्वजनिक गरेको छ, अब मन्त्रालय मातहतका निकायलाई उक्त सिमेन्ट प्रयोग नगर्न भनेका छौं ।
’नेपाल गुणस्तर तथा नापतौल विभागले विकास निर्माणसँगै नागरिकले निर्माण गर्ने घरमा समेत मारुती सिमेन्ट प्रयोग नगर्न आग्रह गरेको छ । गुणस्तरहीत सिमेन्ट प्रयोग गर्दा हाल निर्माणाधीन विकास निर्माणको कामसमेत प्रभावित भएको भन्दै विभागले देशको ठूला विकास आयोजनामा प्रयोग हुँदै आएको मारुती सिमेन्ट प्रयोग नगर्न सरोकारवालाहरूलाई आग्रह गरेको हो ।
४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि गुणस्तर तथा नापतौल विभागले यसअघि निर्देशन दिए पनि मारुती सिमेन्टले अझै कार्यान्वयन गर्न आनाकानी गर्दै आएको छ ।
नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीको सिमेन्टलाई नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याएको विभागले बताएको छ ।
संकलित नमुनाको एमपीए ७ र २८ दिनको मान क्रमशः ३१ र ३७ मात्रै देखिएको थियो ।
विभागका अनुसार उक्त सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा उक्त कम्पनीले गुणस्तहीन सिमेन्ट उत्पादन गरी उपभोक्तालाई ठगी गरिरहेको तथ्य फेला परेको छ ।सिरहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ ।
विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनीसमेत दिएको छ ।मारुती सिमेन्टप्रति नागरिकस्तरबाट पनि विगतमा प्रश्न उठ्दै आएका थिए । यसपटक विभागले नै प्रयोग नगर्न आग्रह गरेको छ ।