जनकपुर ।
छठ पर्वका लागि पोखरीमा घाट निर्माणको विषयलाई लिएर भएको दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा निषेधाज्ञा थप गरिएको छ ।
धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादले झडपसम्मको रुप लिएपछि निषेधाज्ञालाई बढाइएको हो
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक विज्ञप्ति जारी गर्दै आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा लगाइएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरेको जनाएका हुन् ।
देवपुरा रुपैठा स्थित तेलिया पोखरीमा अर्घ्य राख्नका लागि निर्माण गर्न लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच विवाद भएको थियो । सो विवादले शनिवार उग्ररूप लिएपछि स्थानीय प्रशासनले शनिवार दिउसो देखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
तर आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० का सदस्य महावीर महतोमाथि कुटपिट गरिएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मका लागि थप गरेको हो । स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका वडा सदस्य महतोको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको अस्पतालले जनाएको छ ।
प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाले देवपुरा रुपैठास्थित पूर्वमा जलाद नदीको कली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।