जनकपुर –
धनुषा जिल्लामा एक हप्ताको भित्रमा दुई जना बालक बेपत्ता भएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं.२ राघोपुर टोल बस्ने मदन साहका १४ वर्षीय छोरा रमेश कुमार साह बिहीबार बिहान ९ बजेको बेपत्ता भएका छन् ।
छठ पूजाको विहानको अर्घ सकिएर घरमा गएको र प्रसाद वितरण गरेको केहिबेर मै घरबाट महेन्द्रनगर तर्फ गएको रमेश वेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ ।
रमेश बेपत्ता भएदेखि नै खोज तलाश गरेपनि फेला पार्न नसकिएको रमेशको दाई उमेश कुमार साहले बताए । रमेश बेपत्ता भएदेखि नै आफ्ना सबै आफन्तजन, नातागोता, गाउँघर र रमेशको स्कुल पढ्ने साथीहरुको घरमा समेत खोजिसक्यौं तर फेला पार्न नसकेको रमेशको दाई उमेशले बताए ।
यता रमेशले आफुले घर छोडेको र आफ्नो सपना साकार पार्न गईरहेको भन्दै कसैलाई पनि नखोज्नु भन्दै एउटा पानामा लेखेर छोडेको कागज रमेशको सिरानी मुनि फेला परेको छ ।
रमेशले सिरानी मुनि लेखेर छोडेको पानामा म जाँदै छु, आफ्नो सपना पुरा गर्न, मलाई न खोज्नु, बाई बाई भन्दै आफ्नो नाम लेखेर सहि समेत गरेका छन् । रमेश वेपत्ता भएदेखि उनको परिवार चिन्तामा डुबेको छ ।
बेपत्ता भएका रमेश धनुषाकै महेन्द्रनगर स्थित प्रगति शिशु सदन स्कुलमा कक्षा ७ मा पढ्दै गरेका थिए । परिवारमा आमाबुवा सहित दुई दाजुभाई, र दुई दिदी बहिनी रहेको रमेश सबैभन्दा कान्छो रहेको उमेशले बताए ।
रमेशका बुवा मदन वैदेशिक रोजगारीको क्रममा ओमानमा रहेका छन् । यता रमेशलाई कसैले लोभमा फसाएर वेपत्ता पारेको हुनसक्ने वा प्रलोभन देखाएर लगेको हुन सक्ने परिवारजनले आशंका गरेको छ । रमेशले केही दिन अगाडी आफ्नै एकजना आफन्तसँग भारतको मुम्बई जान कति दिन लाग्ने भनेर समेत सोधेका थिए’ उमेशले भने, ‘हामीलाई आशंका छ, कतै रमेशलाई कसैले प्रलोभन देखाएर लगेको हुनसक्छ ।’
यसको आधारमा रमेश मुम्बईतिर गएको हुनसक्ने आशंका समेत गरिएको छ ।
रमेशको खोजी गरिदिनका लागि उमेशले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन समेत दिएको बताएका छन् । निवेदन दिएलगतै प्रहरीले समेत बालक रमेशको खोजविन गरिरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । रमेशको खोजीका लागि परिवारजनले पत्रकार, नागरिक समाज लगायत विभिन्न निकायलाई आग्रह समेत गरेका छन् ।
यसैबीच धनुषाकै मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर लवटोली टोल बस्ने कलामत नदाफको १३ वर्षीय छोरा अरमान नदाफ पनि वेपत्ता भएका छन् । अरमान धनुषाकै लोहनाको मदरसाबाट कार्तिक १८ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
अरमान कुरान पढ्दै गरेको लोहनाका मदरसाबाटै बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
अरमानलाई खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन समेत दिएको अरमानका बुवा कलामतले बताएका छन् ।
वेपत्ता दुबै बालकलाई खोजीका लागि परिवारजन तथा आफन्तजन अलिहे शंकास्पद ठाउँ ठाउँमा भौतारिँदै छन् ।