गौशाला :
प्रदेश नंं. २ का प्रेस काउन्सिल, आम संचार प्राधिकरण र चलचित्र विकास वोर्डमा नियक्त भएका सदस्यहरुमध्ये कतिपयले नक्कली योग्यताका प्रमाणपत्र एवम् नक्कली नागरिकता पेश गरेको प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताएका छन् ।
मंगलवार छठपर्वको अवसरमा समृद्धि मिडिया कन्सल्टेन्सीले महोत्तरीको औरहीमा आयोजना गरेको शुभकामना कार्यक्रमकाबीच मन्त्री साहले सो कुरा बताएका हुन् । मन्त्री साहले भने, ‘यस्ता विषयमा आफुलाई थाहा हुँदा समेत ऐनकै कारण उनीहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
तत्कालिन समयमा प्रदेश सरकारले बनाएको प्रदेश स्तरीय आम संचार विधेयकमा सदस्यहरुको योग्यता ४ बर्षको लागि कायम गरेको छ । कुनै पनि वाहानामा ती सदस्यहरुलाई परिवर्तन गर्न नसक्ने नितीकै कारण हालको समयमा कार्यसम्पादन गर्नका लागि मन्त्रालयलाई अहिले अप्ठयारो भईरहेको छ ।’
तत्कालिन समयमा गठन भएको प्रदेशस्तरीय मिडिया काउन्सिल, आमसंचार प्राधिकरण र चलचित्र विकास वोर्डलाई विघटन गरि एउटै बनाउने प्रक्रियामा प्रदेश सरकार जुटिसकेको मन्त्री साहले जानकारी दिएका छन् ।
आफ्नो मन्त्रालयको तर्फबाट ती संस्थालाई विधिवत रुपमा प्रक्रिया अगाडि बढाईसकेको मन्त्री साहले खुलासा गरेका छन् । प्रक्रिया अलि झन्झटिलो एवम् लामो भएकोले क्रमिक रुपमा अगाडि बढदा अलि समय लाग्ने भएको मन्त्री साहले बताए ।
महापर्वको छठको अवसरमा तीन दिन विदा दिनुपर्ने आवश्यकता उपर जोड दिदै मन्त्री साहले संघींय सरकारसँग छलफल गरि अगामी दिनमा सो लागु गरिने प्रतिवद्धता जनाएका हुन । प्रदेशभरिमा संचालित मिडियाहरुलाई चाँडै नै दर्ता प्रक्रियामा ल्याई समावेशी ढंगले लोककल्याणकारी विज्ञापन ल्याउनका लागि आफु प्रतिवद्ध रहेको मन्त्री साहले जनाए ।
प्रदेश सरकार जनमुखि एवम् समाजमुखि पत्रकारितालाई सम्मान एवम् पितपत्रकारितालाई विस्थापित गर्नका निम्ति कारवाहीको दायरामा ल्याउनको लागि तयार रहेको बताएका छन् । कार्यक्रमकाबीच नेकपा माओबादीका नेता रामबाबु चौधरीले उचित रुपमा पारिश्रमिक नपाउँदा पत्रकारहरु स्वतन्त्र हुन नसकेको बताए ।
कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुनिता महतोले मिथिलान्चलकै महापर्व छठको अवसरमा व्रतअवधिभरिमा विदाको व्यवस्था मिलाईदिनका लागि आग्रह गरेकी हुन । छठपर्व ५ दिनसम्म मनाउने आएकोले सोही अनुसारको समाचार गरिदिनहुनका लागि आग्रह गरेका छन् ।