जनकपुर ।
तराई मधेस क्षेत्रमा दाजुभाइ दिदीबहिनीबीच प्रेमको प्रतीक मानिएको पर्व सामा चकेवा आजदेखि सुरु भएको छ । पञ्चमीदेखि सुरु हुने यो पर्व लगातार १० दिनसम्म चल्ने गर्दछ ।
पर्वको ११औं दिन अर्थात पूर्णिमाको रात सामा चकेवालाई बिसर्जन गरि पर्व समाप्त गरिन्छ । लगातार दश दिनसम्म दिदीबहिनी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन् ।
पर्वको पहिलो दिन अर्थात् आज बिहानदेखि नै दिदीबहिनीले समूहमा गीत गाउँदै खेत तथा भीरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई विभिन्न प्रकारका कलात्मक सामा र चकेवा बनाउन थालेका छन् ।
सामा चकेवालाई विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि राति डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौबाटो, धर्मशाला, मन्दिरमा समेत लगेर १० दिनसम्म लगातार गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।
दश दिनसम्म यस्तै गीत गाएर सामा चकेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइकाे दीर्घायुको कामना गर्ने गर्दछन् । ११औं दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरि बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले जोतिएको खेतमा लगेर बिसर्जन गर्ने गर्दछन् ।
तराई मधेसमा छठपर्व खरनाको दिनदेखि सामा चकेवा पर्व आगमन हुन्छ ।