जनकपुर।
जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिकाको बैठकको माग गर्दै उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापनपत्र बुझाएका छन् ।
नगरप्रमुख लालकिशोर साहले नगरको समस्यालाई बेवास्ता गरेको चाडबाडमा समेत नगरको सरसफाइमा ध्यान नदिएको, विकास निर्माणका काम सुस्ताएको उनीहरुको आरोप छ ।
उपमहानगरका १२ जना वडा अध्यक्षले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उनीहरुले नगरको समस्या समाधान गर्न समेत बैठक डाक्नुपर्ने बताएका हुन् ।
जनकपुरधाम उपमहानगर–४ का वडा अध्यक्ष सुदर्शन सिंहले कार्यपालिका बैठक बस्न नसक्दा उपमहानगरका काम कारवाहीको समीक्षासमेत हुन नसकेकाले बैठकको माग गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।
नगर कार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानुनी व्यवस्था रहे पनि विगत ५ महिनादेखि उपमहानगरको कार्यपालिका बैठक नबोलाइएको वडा नम्बर ३ का वडा अध्यक्ष जानकीराम साहले बताए ।
उनले ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापन समेतको शीर्षक उपर छलफल गराएर कानुन बमोजिम निर्णय गरिदिन माग गरिएको बताए ।
आफूहरुको मागलाई बेवास्ता गरिए कानुनी प्रक्रिया अनुसार कडा कदम चाल्ने वडा अध्यक्षहरूको चेतावनी छ । उपमहानगरको वडा नम्बर १, ३, ४, ६, ७, ८, ९, ११, १६, २०, २२ र २४ का वडा अध्यक्ष र कार्यपालिका सदस्यद्वय श्यामा झा तथा चञ्चला देवीले समेत उपप्रमुख मिश्रलाई ज्ञापनपत्र बुझाउँदै नगर बोर्ड बैठक तत्काल राख्न माग गरेका हुन् ।