जनकपुर ।
अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बन्छ । कहिलेकाहीँ पूजा सामग्री वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने काम मुख्यतया डुम समुदायले गर्दछ ।
मिथिलाञ्चलमा छठको पूर्व सन्ध्यामा बाँसबाट बनेका सामग्रीहरु जोहो गर्न अहिले भ्याइ–नभ्याइ छ । छठ पर्व डुम समुदायका लागि आय आर्जनको अवसर पनि हो । उनीहरुले बनाएको नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामग्री छठमा बढी खपत हुने गर्दछ ।
छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राख्ने परम्परा छ । चोयाबाट बुनेका यस्ता भाँडामा फूल तथा प्रसाद राख्दा सुसज्जित समेत देखिन्छ । यस्ता सामग्री बनाउने डुम समुदाय जीवन भने कष्टपूर्ण छ । दलित समुदायमा गनिने उनीहरु जातीय छुवाछुतको पीडाबाट अझै मुक्त हुन सकेका छैनन् ।
जनकपुर उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामअशिष पजियारले पुरानो पुस्ताका व्यक्तिहरुले मात्रै छुवाछुत मान्ने गरेको बताए । नयाँ पुस्तामा छुवाछुतको भावना त्यति नरहेको उनको भनाइ छ ।
मुलुकमा आएको आमुल परिवर्तनसँगै देश विकासको पथमा अग्रसर भइरहेको अवस्थामा अहिले पनि आफूहरुमाथि छुवाछुत हुनु, हेयको दृष्टिले हेरिनु दुःखको विषय रहेको रेवता मलिक बताउँछन् ।