जनकपुर।
भारतबाट लागू औषध लिएर नेपाल आएका दुई युवकलाई प्रहरीले गएराति महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार शुक्रबार राति १० बजे भारतको सीतामढी कन्हमा सहरबाट लागूऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका बेला उनीहरु पक्राउ परेका हुन्।
उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीबाट गस्तीमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो। शङ्का लागि जाँच गर्दा उनीहरुको साथबाट लागू औषध बरामद भएको प्रहरीले जनाएको छ।
ती युवाको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नुका साथै दुई थान मोबाइल पनि बरामद गरेको छ।
त्यसक्रममा उनीहरु सबार भारतीय नम्बर प्लेटको बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको छ। रासस