जनकपुर।
जनकपुरस्थित खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेको समूहमा एक जना नेपाल सरकारकै पूर्वकर्मचारी पनि संलग्न रहेको पाइएको छ।
ढलनिकासका काममा ढिलासुसस्ती र भ्रष्टाचार गरेको आरोप लगाउँदै यही कात्तिक ४ गते डा. सीके राउत नेतृत्वको जनता पार्टीका नेता/कार्यकर्ताले खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख कुशवाहालाई कार्यालयबाटै थुतेर कुटपिट गर्दै अर्धनग्न बनाएर हिलो छ्यापी जनकपुर बजार घुमाएका थिए।
उक्त घटनामा नेपाल सरकारका पूर्वकर्मचारी ४४ वर्षीय सञ्जयकुमार सिंहको समेत संलग्नता रहेको पत्ता लागेको हो।
उनी अहिले धनुषा प्रहरीको हिरासतमा छन्। सिंह जनमत पार्टीका केन्द्रीय सदस्य हुन्। घटनामा संलग्न रहेको आरोपमा पूर्वकर्मचारी सिंहलगायत १७ जनालाई प्रहरीले घटनाकै दिन नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको हो।
म्याद थप गरी उनीहरूबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतले भने मौलाउँदो भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो पार्टीले ‘जनकारबाही अभियान’ थालेको बताइरहेका छन्।
तर निमित्त प्रमुख कुशवाहालाई जनकारबाहीका नाममा अमानवीय व्यवहार गर्ने घटनामा संलग्न पूर्वकर्मचारी सञ्जयकुमार सिंह स्वयं २ वर्षदेखि सरकारी आवास कब्जा गरेर बसिरहेको पनि खुलासा भएको छ।
सिंह सडक डिभिजन कार्यालय (मुजेलिया) का अवकाशप्राप्त कर्मचारी हुन्। उनी डिभिजन कार्यालयमा सवारीचालक थिए।
स्थायी कर्मचारी उनले २०७६ कात्तिकमा कामबाट राजीनामा दिएका थिए। सडक डिभिजनबाट स्वेच्छिक अवकाश लिएका सिंहले सरकारी आवास भने अहिलेसम्म नछाडेका हुन्। उनको स्थायी घर सर्लाहीको बलरा नगरपालिका ६ मा पर्छ।
सडक डिभिजन कार्यालय, ग्रामीण प्रशिक्षण केन्द्रको परिसरभित्र कर्मचारीहरूका लागि आवास गृह छन्। सोहीमध्ये एउटा आवास गृह सिंहले कब्जा गरेका हुन्।
आवास अभावमा सडक डिभिजनकै कर्मचारी भने बाहिर डेरा लिएर बस्न बाध्य छन्।
सिंहले कब्जा गरेको आवासमा जनमत पार्टीका नेता÷कार्यकर्तासमेत बस्ने गरेको एक कर्मचारीले बताए।
‘प्रायः ताल्चा लगाएर क्वाटर बन्द राख्छन्। तर कहिलेकाहीँ टाढाका पार्टीका नेता/कार्यकर्तासहित आएर बस्छन्। पार्टीकै नाममा धाकधम्की देखाएर हालसम्म क्वाटर कब्जा गरेर बसेका छन्। डरले कसैले केही भन्दैनन्’, ती कर्मचारीले भने।
सडक डिभिजन कार्यालयले भने आवास खाली गर्न पटकपटक लिखित तथा मौखिक ताकेता गरिरहेको छ। तर सिंहले टेरपुच्छर लगाएका छैनन्।
कार्यालयको प्रशासन फाँटका नायब सुब्बा प्रमोद यादवले सरकारी आवास खाली गर्न सिंहलाई धेरैपटक लिखित/मौखिक ताकेता गरेको नेपालखबरलाई बताए।
डिभिजन प्रमुख सञ्जय मिश्राले पनि २ वर्षदेखि सिंहले आवासमा ताल्चा लगाएर राखेको बताए।
‘दुई वर्षदेखि किन आवास खाली गराउन सक्नुभएन?’
नेपालखबरको प्रश्नमा प्रमुख मिश्रले भने, ‘सिंह डिभिजनकै पूर्वकर्मचारी हुन्। अवकाश पाए पनि अहिलेसम्म क्वाटरमा ताल्चा झुन्ड्याएर राखेका छन्। क्वाटर खाली गर्न कार्यालयबाट बारम्बार लिखित र मौखिक ताकेता भएको छ। एकपटक म आफैंले पनि फोन गरेर भनेको थिएँ, क्वाटरको जरुरी छ, खाली गरदिनूस्। तर, अझै गरेका छैनन्।’
कार्यालयमा कर्मचारीको दरबन्दी बढ्दा आवासको अभावसमेत भएको अवस्थामा सिंहले आवास खाली गर्न नमानेको उनको भनाइ छ। प्रमुख मिश्रले अब सिंह प्रहरी हिरासतबाट रिहाँ हुँदा खाली गराउने बताए।
पूर्वकर्मचारी सिंह स्वतन्त्र मधेस गठबन्धनकै बेलादेखि डा। सीके राउतका समर्थक थिए। पछि राउत मूलधारको राजनीतिमा आएपछि जनमत पार्टीको पहिलो अधिवेशनबाट सिंह केन्द्रीय सदस्य बनेका हुन्।
साभार - नेपालखबर
https://nepalkhabar.com/politics/110767-2021-11-6-10-26-40