एजेन्सी।
भारतीय ह्याकरहरुले केही बर्षयता नेपाल, चीन र पाकिस्तानका सैनिक तथा रक्षा मामिला हेर्ने सरकारी निकायमा साइबर हमला गर्दै आएको चीनको एक सरकारी सञ्चारमाध्यमले दाबी गरेको छ।
नेपाल, चीन र पाकिस्तानका सरकारी सुरक्षा निकायमा साइबर हमला गर्दै आएका ती भारतीय ह्याकरलाई भारत सरकार तथा त्यहाँको जासुसी निकायको सहयोग रहेको हुनसक्ने चीन सरकार नियन्त्रित ग्लोबल टाइम्स पत्रिकाको दाबी छ।
‘भारतीय ह्याकरले नेपाल, चीन र पाकिस्तानका सरकारी निकायमा साइबर हमला गर्नेक्रम पछिल्ला दिनमा बढेको छ। चीन सरकार यसबारे जानकार रहेपनि नेपाल र पाकिस्तान यसबारे खासै जानकार छैनन्’, ग्लोबल टाइम्सले शुक्रबार प्रकाशित आफ्नो अनुसन्धानात्मक रिपोर्टमा भनेको छ।
साइबर हमला गर्न भारतीय ह्याकरले एकसय भन्दा बढी नक्कली वेवसाइट समेत संचालन गरिरहेको दाबी यो रिपोर्टमा गरिएको छ।
चीनमा साइबर सुरक्षामा काम गरिरहेका चिनियाँ कम्पनीले भारतीय ह्याकरको अवान्छित गतिबिधीबारे अध्ययन गरेको रिपोर्टका जनाइएको छ।
‘गत मार्चयता भारतीय ह्याकरले नेपाल, पाकिस्तान र चीनका सुरक्षा मामिला हेर्ने सरकारी निकायमा साइबर हमला गर्दै आएको हामीले पाएका छौं’, चीनमा साइबर सेक्युरिटी हेर्ने एक कम्पनी एन्टी ल्याब्सलाई उधृत गर्दै ग्लोबल टाइमसले भनेको छ, ‘एभिल फ्लावर इन साउथ एसिया, ल्युर अफ ब्युटि, घोस्ट वार एलिफेन्ट्स रोमिङ् दि हिमालयज जस्ता कोड नाम राखेर ती भारतीय ह्याकरले साइबर हमला गरिरहेका छन्।’
भारतीय ह्याकरहरु समूह नै बनाएर नेपाल, चीन र पाकिस्तानका सरकारीय निकायका वेवसाइट तथा इमेल ह्याक गर्ने काममा उद्दत रहेको दाबी यो रिपोर्टले गरेको छ। यस्ता समूह सामान्यतयाः ‘एड्भान्स पर्सिस्टेन्ट थ्रेट’ का नामले परिचित छन्। पछिल्ला बर्षमा भारततर्फबाट भएका साइबर हमलाबाट सबैभन्दा बढी चीन पीडित भएको रिपोर्टको दाबी छ।