जनकपुर —
चार दिनयता प्रदेश २ मा सबैजसो राजनीतिक दलका शीर्ष नेताको आउजाउले नेता कार्यकर्तामा उत्साह थपिएको छ । चाडपर्वका बेला शुभकामना बाँड्दै हिँडेका शीर्ष नेताको चहलपहल भने चुनावी झल्को दिने खालको छ ।
माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार जनकपुर आउँदा ‘राजनीतिक दलले आफ्नो दायरा बढाउनु’ स्वाभाविक रहेको बताए पनि ‘अर्ली इलेक्सन’ नहुने दाबी गरे । तर, दाहालको धनुषा र सर्लाहीको राजनीति भ्रमण चुनावी तामझामभन्दा कम थिएन । सर्लाहीमा त उनले मधेस केन्द्रित दल जनता समाजवादी पार्टीलाई आफ्नो दलसँग एकीकरण गर्न सार्वजनिक आह्वान नै गरे । आइतबार साँझ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल जनकपुर आइपुगे ।
सोमबार पत्रकारसँग कुरा गर्दै उनले ‘कांग्रेसको सभापति मधेसी हुँदा पनि फरक नपर्ने’ अभिब्यक्ति दिएर मधेसको मतदातालाई रिझाउन खोजे । दसैंअघि नै गृहनगर जनकपुर आएका कांग्रेस उपसभापति बिमलेन्द्र निधि साताभन्दा बढी यतै बसे । निधिले जनकपुर बसाइको क्रममा धनुषाको चारवटै निर्वाचन क्षेत्रमा शुभकामनाको नाममा ठूला सभालाई सम्बोधन गरे ।
अरू बेला वीरगन्ज पुग्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव खासै तामझाम गर्दैनथे । तर, आइतबारको वीरगन्ज आगमन तडकभडकपूर्ण देखिन्थ्यो । यसै साता, जनकपुर आइपुगेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पनि आफ्नो निर्वाचन क्षेत्रमा अधिकांश समय खर्चिए । ‘मतदाताले चिनेको छ । संगठन यहीं छ । सबैसित उठबस छ । अनि अरूतिर किन चुनाव लड्न जानु,’ नेता महतोको यो अभिव्यक्तिले उनी धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने कि नलड्ने संशय चिरिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मंगलबार गृहजिल्ला रौतहटमा भेटघाट तीव्र पारे ।
नेताहरूले अर्ली इलेक्सनबारे खुलेर नबोले पनि चाडपर्वको मौका छोपेर चुनावी गतिविधि प्रदेश २ मा तीव्र पारेका छन् । सत्ता परिवर्तन र त्यससँगै राजनीति दल टुटफुट भएपछि मधेसमा आफ्नो प्रभाव र मत बढाउन शीर्ष नेताहरू लगालग प्रदेश २ का जिल्ला भ्रमणमा छन् । ‘नेताहरूको मुड चुनावमय भइसकेको छ,’ जनकपुरका बुद्धिजीवी अमरचन्द्र अनिलले कान्तिपुरसँग भने, ‘चाडपर्वमा एकै थलोमा धेरै जनासँग भेंट हुने भएकाले अवसरको सदुपयोग गरेका हुन् । चुनावका बेला मधेसमा सबै दलले जोडबल गर्छन् ।’
सप्तरीमा राजनीतिक दलले आफ्ना गतिविधि र कार्यक्रमलाई तीव्रता दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिँदै गएको र प्रतिनिधि/प्रदेशसभाको निर्वाचन समयभन्दा अगावै हुन सक्ने आकलनसहित दलका नेता–कार्यकर्ताले सक्रियता बढाएका हुन् ।
सबै दलले आफ्नो आन्तरिक संगठन सुदृढीकरणसहित सदस्यता वितरण, अधिवेशनलगायतका गतिविधि तीव्र बनाएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले राजविराजसहित अन्य क्षेत्रमा दैनिकजसो कार्यक्रम गर्न थालेका छन् ।
वडा अधिवेशन सकेको एमालेले पालिका अधिवेशनलाई निरन्तरता दिएको छ । सप्तरीमा दैनिकजसो एमालेका कार्यक्रम भइरहेका छन् । माओवादीले पनि कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । जनता समाजवादी पार्टीले दैनिकजसो कार्यक्रम गरिरहेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव कात्तिक १ देखि ५ गतेसम्म आफ्नो निर्वाचन क्षेत्र सप्तरी २ मा सभा र अन्तरक्रियामा व्यस्त बने । बुधबार सप्तरीमा हुने आमसभामा उनी सहभागी हुँदै छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेता सप्तरीमा दुई दिनसम्म विभिन्न कार्यक्रममा सक्रिय रहे ।