जनकपुर।
जनता समाजवादी पार्टी नेपालले प्रदेश २ पार्टी कमिटीको समायोजनलाई पूर्णता दिन सकेन । समायोजनको काम टुङ्ग्याउन भन्दै काठमाडौँबाट जनकपुर पुगेका शीर्ष नेताहरु प्रदेश कार्यसमितिको पदाधिकारीमा आकांक्षी धेरै भएपछि खाली हात फर्केका छन् ।
प्रदेश २ सरकारमा रहेका मन्त्रीहरुको हेरफेर तथा प्रदेश २ पार्टी कमिटीको कार्यसमिति चयन गर्न जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु सोमबार जनकपुर पुगेका थिए । प्रदेश कमिटीको विषयमै छलफल गर्दागर्दै समय बितेका कारण मन्त्रीहरुको विषयमा छलफल नै हुन सकेन ।
जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रदेश २ सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार प्रदेश सरकारमा जसपाका मन्त्री हेरफेरको विषयले छलफलमा प्रवेश नै पाएन । प्रदेश कमिटीको विषयमा छलफल भए पनि समय अभावका कारण त्यसले समेत पूर्णता नपाएको जानकारी उनले दिए । यसबारे अब छठपछि टुङ्गो लगाइने उनको भनाइ छ ।
प्रदेश कमिटीको १५ पदाधिकारीमध्ये अध्यक्षका लागि १० जनाले चाहना व्यक्त गरेका छन् भने सातवटा उपाध्यक्षका लागि ३५ जना, एउटा मुख्यसचिवका लागि पाँचजना, पाँचवटा सचिवका लागि २५ जना र एउटा कोषाध्यक्षका लागि १३ जनाले दाबी गरेका छन् ।
अध्यक्षका लागि बालकिशोर यादव, अशोक यादव, ज्ञानेन्द्र यादव, उर्मिला साह, शेषनारायण यादव, रामपृत पासवान, लालकिशोर यादव, सुशिल यादव, रामअवतार यादव र रामअषिश यादवको दाबी छ । प्रदेश अध्यक्षका लागि सबैभन्दा बढी चर्चामा रहेका लालकिशोर साहको नाम सोमबारको बैठकमा नआएको स्रोतले जनाएको छ ।
सोमबार जनकपुरमा बसेको शीर्ष नेताहरुको बैठकमा कार्यसमितिको पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि छठ लगत्तै यो विषय टुङ्गो लगाउने गरी बैठक सकिएको जनाइएको छ ।
कार्यसमितिको विषयमा टुङ्गो लगाउने जिम्मेवारी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । अध्यक्ष यादवले सबैसँग सल्लाह गरेर यसबारे टुङ्गो लगाउने बताइएको छ ।